TRENDING

नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला

काठमाण्डौ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् ।

सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।

आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरु काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरु बताउँछन् । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ ।

आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । गएको वसन्तयाममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ ।

आरोहीलाई अरु हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायु विज्ञहरु बताउँछन् । नेपालमा एक हजार ३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्याङ्क छ ।