TRENDING

कामीरिता एक सातामै दुईपल्ट सगरमाथा चुचुरोमा

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पा एक साता पुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले मंगलबार बिहान दोस्रोपटक आरोहण गरेका हुन् ।

आज २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

गत बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ ।