TRENDING

बागमती प्रदेशमा लम्पी स्किनबाट अठार हजार गाई सङ्क्रमित

काठमाडौ । बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार सबैभन्दा बढी मकवानपुरमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा चार हजार आठ सय ३५ गाईमा उक्त रोग देखा परेको छ भने एक सय ९७ गाईको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीमा नौ हजार छ सय ३४ सङ्क्रमण देखिएको छ भने ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० गाईमा उक्त रोगको सङ्क्रमण देखिएको सचिव पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले सङ्क्रमित सङ्ख्या शून्य छ । धादिङको विवरण मन्त्रालयमा आइनसकेको उहाँको भनाइ थियो ।

हालसम्म गाईमा मात्र सङ्क्रमण भएको र भैँसीमा उक्त रोग सङ्क्रमण नभएको सचिव पाण्डेले बताउनुभयो । काठमाडौँमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।