TRENDING

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी

काठमाडौ । देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो ।

यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा सात दशमलव ६१ प्रतिशत, पहाडमा सात दशमलव ७९ प्रतिशत र हिमालमा आठ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो ।

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २८ प्रतिशत बराबर थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ४२ प्रतिशत रहेको छ ।