TRENDING

काठमाण्डौका अव्यवस्थित तार व्यवस्थापन आजदेखि

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आजदेखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने नगर प्रहरीले जनाएको छ ।

तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिसमेत रहनेछन् ।

सेवा प्रदायकले आ–आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ ।