TRENDING

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा​ हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिएका छन्। यो आवको चैत मसान्तसम्म दुई लाख २१ हजार ५०३ पर्यटक भित्रिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार ७०८ नेपाली, ३९ हजार ४०५ विदेशी, २२ हजार ३९० सार्क राष्ट्रका पर्यटक छन्। चालू आर्थिक वर्षमा १९ करोड आठ लाख ४३ हजार ८४४ रुपैयाँ राजस्व संकलन भएको छ।

आव २०७८र७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका छन्। यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व सङ्कलन भएको छ।

यसैगरी आव २०७७र७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार ३७६ रुपैयाँ राजस्व संकलन भएको छ। आव २०७६र७७ मा एक लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। सो आवमा १९ करोड ९२ लाख ५५ हजार ६८१ रुपैयाँ राजस्व संकलन भएको छ।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१ ३२ बाट निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यस वर्ष ८३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट एक लाख ४० हजार २९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२र३३ मा दुई हजार २०६ पर्यटक निकुञ्ज छिरेका थिए। यसबाट दुई लाख एक हजार ४२१ राजस्व बुझाएका थिए।

पर्यटकको संख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो। आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५र७६ मा संकलन भएको रु २९ करोड ४४ लाख ६६ हजार ६४० अहिलेसम्मको सबैभन्दा बढी हो। निकुञ्ज प्रवेश गर्ने नेपालीले १५०, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउँछन्।