TRENDING

पर्वतमा ३० करोड रुपैयाँको सुन्तला निर्यात

पर्वत । जिल्लामा यो वर्ष करिब ३० करोड रुपै याँको सुन्तला निर्यात भएको छ।

निर्यात भएका चार हजार २५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २९ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन्।

केन्द्रका अनुसार यो वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो।

यो वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यसमध्ये चार हजार २५० मेट्रिक टन सुन्तला निर्यात भएको केन्द्रले जनाएको छ।

पर्वतबाट औसतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएका छन्। यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन्।

जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। यसमध्ये ५०० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलमा आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ। उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ।

गत आर्थिक वर्ष ०७८र७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो। यो वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन्।

यो वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो। पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढेको छ। ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो’, उनले भनिन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैँयु गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रूपमा विकास गरिएको छ। जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ। यहाँको एउटै गाउँबाट करिब आठ करोडको सुन्तला निर्यात भएको छ।

त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैँयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको छ।