वीरेन्द्रबहादुर बस्नेत
नेपालको भौगोलिक अवस्था निकै फरक छ । मौसम त झन् परिवर्तनशील। काठमाडौंबाट १० मिनेट उत्तर वा दक्षिण जानेबित्तिकै निकै चिसो र अत्यन्तै गर्मी वातावरण पाइन्छ। हिउँदमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको हुन्छ । भिजिबिलिटी निकै तलसम्म झरेको हुन्छ र उडान गर्दै जाँदा मौसम परिवर्तन पनि हुँदै जान्छ । मौसम, हावाको वेग, चट्याङ, असिना, पानी आदि प्राकृतिक बहाव थेग्ने गरी नै जहाजको डिजाइन गरिएको हुन्छ । सामान्यतः हवाई दुर्घटनाका विभिन्न पाटा हुन्छन । जस्तै प्राविधिक, मानवीय त्रुटि, प्रतिकूल मौसम, संस्थागत कारकहरू लगायत यीमध्ये कुनै एक वा विभिन्न कारणको सम्मिश्रणबाट पनि दुर्घटना हुनसक्छ । जहाजलाई नियमित मर्मत तथा जाँचबाट प्राविधिक त्रुटि पत्ता लगाई त्यसको निराकरण गरिन्छ । त्यसैगरी तालिमलाई व्यापक, दिइएको निर्देशिका अक्षरशः पालना तथा कठोर अनुशासन कायम गरेर जनशक्तिलाई चनाखो बनाई मानवीय त्रुटिहरू न्यूनीकरण गर्न सकिन्छ ।
बुद्ध एयरको स्थापनाको जग नै व्यवस्थित, अनुशासित एवं नियमपूर्वक संकल्पसहित ११ अक्टोबर १९९७ का दिन बसालिएको थियो। एउटा बिचक्राफ्ट जहाजबाट सुरू गरिएको यात्रा यात्रु संख्या बढेसँगै जहाजको संख्या पनि क्रमशः सात वटासम्म पुगेको थियो । बिचक्राफ्टमा सिट संख्या १८ वटा मात्र हुन्छ । यसले कम्पनीलाई सञ्चालन खर्च बढी प¥यो । यात्रुलाई पनि खल्ती भार परिरहेको थियो । त्यसताका बजारमा सञ्चालनमा रहेका एयरलाइन्सहरूले धेरै सिटका जहाजबाट उडान भरिरहेका थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रोसाह्रो परिरहेको थियो । सञ्चालन खर्च कम हुनुका साथै वातावरणीय क्षति पनि कम तथा गुणस्तरीय आरामदायी यात्राका लागि कुन जहाज ल्याउने भन्नेमा निकै छलफल भयो । अन्त्यमा सामूहिक निर्णयबाट एटिआर जहाज सबभन्दा उत्तम हुने देखियो । त्यसताका निकोन एयरले पनि एटिआर सञ्चालन गरेको थियो । विभिन्न कारणले त्यो कम्पनी नै धराशायी बन्यो। धराशायी हुनुको मुख्य कारण मर्मत सम्भारमा अत्यधिक पैसा विदेशिनु पनि थियो । जहाज भित्र्याएसँगै बुद्ध एयरले दक्षिणपूर्वी एसियाकै अत्याधुनिक ह्यांगर निर्माण थाल्यो। उक्त ह्यांगर निर्माण र भौतिक पूर्वाधारका कारण उत्कृष्ट पनि ठहरियो । आइपिएमए अवार्ड पनि प्राप्त भयो ह्यांगरलाई सुरूमा एटिआर ४२–३२० भित्र्याए पनि केही समयकै अन्तरालमा ठूलो जहाज एटिआर–७२ बाट उडान सञ्चालन भयो । त्यसपछिका उडानमा सर्वसाधारण नेपाली पनि जोडिन थालियो, जुन बुद्ध एयरका लागि गर्वको विषय हो ।
२५ वर्षको अवधिमा दुई करोडभन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ । सन् २०११ पछि हवाई सुरक्षालाई थप सशक्त तथा आरामदायी बनाउन सुक्ष्म तथा मिहीन ढंगले व्यापक कदम चालियो । घर निर्माणमा जग बलियो भयो भने घर पनि बलियो हुन्छ । हामीले पनि त्यसैअनुरूप अन्तर्राष्ट्रिय हवाई सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट हाम्रो प्रक्रिया, मापदण्ड, संस्थागत संरचना, भौतिक पूर्वाधार, जनशक्ति आदि सबैको अडिट गरायौं । अडिटपछि विभिन्न विभाग तथा छुट्टाछुट्टै प्रभाग पनि कायम भयो । भौतिक पूर्वाधार, सरसामग्री तथा जगेडा पार्टपुर्जामा व्यापक लगानी भयो । आज हामीसँग पर्याप्त मात्रामा जगेडा पार्टपुर्जाहरू छन् । हाम्रा १५ सय कर्मचारीहरूलाई नियमित तालिम, भौतिक पूर्वाधार, जगेडा पार्टपुर्जा एवं सरसामग्रीहरूमा अर्बौं रूपैयाँ खर्च गर्दै विश्वकै टप ‘सेन्टाइल’ गुणस्तरयुक्त वायुसेवा स्थापित गरेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि एयरलाइन्सका लागि यी ७ कुराले प्रभावकारी भूमिका निर्वाह गरिरहेका हुन्छन ।
१. ह्यांगर
कार तथा अन्य गाडीको वर्कसपजस्तै जहाज मर्मत तथा कर्मचारीबीचको समन्वयका लागि ह्यांगर अपरिहार्य हो। ह्यांगरमा जहाज मर्मत, जहाजका पाटर्पुर्जा, सरसामग्री, उपकरण, सुरक्षित राख्न आवश्यक पर्याप्त ठाउँ हुन्छ । त्यसैगरी जहाजका पार्टपुर्जाको मर्मतसम्भारका लागि चाहिने आवश्यक पूर्वाधारका साथै कर्मचारीहरूका लागि कार्यालय तथा क्यान्टिन सुविधा हुन्छ । जहाजका कतिपय पार्टपुर्जा वातानूकुलित तवरले राख्नुपर्ने हुन्छ जुन ह्यांगरमा हुन्छ । ठूल्ठूला पार्टपुर्जा तथा सरसामग्रीलाई व्यवस्थित तथा सुरक्षित राख्न पनि ह्यांगरको ठूलो महत्व छ । जहाजका कतिपय पार्टपुर्जाको मिहीन जाँच तथा परीक्षणका लागि विशेष पूर्वाधार तथा दक्ष जनशक्ति पनि चाहिन्छ । प्रोपेलर तथा ठूलठूला पखेटाहरूमा हिउँबाट जोगिन जहाजमा डिआइसिङ र एन्टी–आइसिङ डिभाइस जडान गरिएको हुन्छ । सो प्रणालीको पार्टपुर्जा मर्मत गर्न विशेष पूर्वाधार चाहिन्छ । यसका लागि वर्कसपमा प्रशस्त ठाउँ चाहिन्छ । समग्रमा भन्नुपर्दा जहाजको पूर्ण मर्मतको विकल्प ह्यांगरबाहेक अर्को केही हुनै सक्दैन ।
२. मर्मत सम्भार
यसलाई दुइटा पाटोबाट हेर्न सकिन्छ। ‘पार्किङ वे’ मा रहेका जहाजको सानातिना मर्मतसम्भार त्यहीँबाट गर्न सकिन्छ। यसलाई ‘लाइन मेन्टिनेन्स’ भनिन्छ । लाइन मेन्टिनेन्समा पनि प्राविधिक तथा आवश्यक सरसामग्री राख्ने ठाउँ चाहिन्छ । यसका लागि अस्थायी रूपमा ‘कम्पार्टमेन्ट’ राखिएको हुन्छ । यसै ठाउँबाट लाइन मेन्टिनेन्सका सबै काम गरिन्छ ।
धेरै परीक्षण तथा निकै समय लाग्ने काम गर्नुपरेमा जहाजई ह्यांगरमा पठाइन्छ । यहाँ हुने मर्मतलाई ‘बेस मेन्टिनेन्स’ भनिन्छ । बेस मेन्टिनेन्समा जहाजको अद्यावधिक तथा नियमित अन्तरालमा हुने सबै परीक्षण तथा मर्मत गरिन्छ । जहाजको उडान वा साइकल (चक्र) तथ्यांक नियमित अद्यावधिक गरिन्छ । तथ्यांकअनुसार कुन पार्टपुर्जा के कति समयमा फेर्नुपर्ने हो, कुन जाँच कतिखेर गर्नुपर्ने हो, त्यसअनुरूप जाँच गरेर पार्टपुर्जा फेरिन्छ । साथै विमान निर्माता कम्पनी र नागरिक उड्डयन प्राधिकरणको निर्देशिकाअनुसार नियमित अन्तरालमा जहाजको अग्रभागदेखि पुच्छरसम्म सुक्ष्म निरीक्षण तथा मर्मतसम्भार गरिन्छ ।
३. जनशक्ति
वायुसेवा व्यवसायमा दक्ष प्राविधिक तथा अन्य कर्मचारीहरूको समूह रहन्छ । प्राविधिकहरूलाई अन्तर्राष्ट्रिय संघसंस्था, विमान निर्माता कम्पनी र नागरिक उड्डयन प्राधिकरणको नीतिनियम अनुरूप नियमित अन्तरालमा तालिम दिनुपर्छ । प्रमाणित प्रशिक्षकबाट क्रमशः अरूअरू जनशक्तिलाई पनि तालिम प्रदान गरेर सक्षम बनाउनुपर्छ । विमान चालक दललाई ६ महिनाको अन्तरालमा ’सिमुलेटर ट्रेनिङ’ का लागि नागरिक उड्डयन प्राधिकरणले प्रमाणीकरण गरेको ठाउँमा पठाउनुपर्छ । उडानका क्रममा देखिने स–साना त्रुटिहरूलाई त्यस सिमुलेटर ट्रेनिङबाट सजिलै सच्याउन सकिन्छ । यसले उनीहरूको मनोभावना पनि उच्च हुन्छ । तालिममा पर्याप्त धनराशी खर्च गर्नुपर्छ । यसमा कहीँ कतैबाट कमी गर्न हुँदैन ।
४. रूट प्लान र लोड ब्यालेन्स
यो शब्द नै प्राविधिक छ । जहाज उड्ने रूट के कस्तो छ, के कति तलमाथिसम्म उड्न मिल्छ, त्यो पहिल्यै निर्क्यौल गर्नुपर्छ । भौगोलिक बनावट र मौसमका कारण कति संख्यामा यात्रु तथा कार्गो बोक्न मिल्छ, पहिल्यै तय गर्नुपर्छ । अझ सिंगल इञ्जिनको भारवहन क्षमताअनुसार भारको हिसाब गर्नुपर्छ र त्यहीअनुसार यात्रु, हवाई इन्धन तथा कार्गो बोक्नुपर्छ । बुद्ध एयरले जापानको मौसम सम्बन्धी कम्पनीसँग सहकार्य गर्दै रियल टाइममा वेदर तथा भिजुअल अपडेट (मौसम तथा दृश्यको अद्यावधिक) सेवा लिइरहेका छन् । यसबाट उडान तयार गर्ने दल तथा पाइलटलाई पनि निकै सहयोग पुगेको छ । यसबाट उडान डाइभर्ट हुने क्रम पनि रोकिएको छ ।
५. कर्पोरेट सेफ्टी
सुक्ष्म तथा मिहीन ढंगले जोखिमहरू पहिचान गर्दै सही तरिकाले न्यूनीकरण र निवारणका प्रमुख कार्य कर्पोरेट सेफ्टी डिपार्टमेन्टको हो । यो विभागभित्र सगोलमा प्राविधिक, सञ्चालन तथा पूर्वाधारहरूको नियमित समीक्षा बैठकका साथै जोखिम न्यूनीकरणका लागि विभिन्न काम गर्नुपर्ने हुन्छ । कतिपय समयमा गरिएका निर्णयहरू तत्कालै लागू गर्नुपर्ने हुन्छ । प्राविधिक तथा विमान चालक दलसँग एकदमै नजिकबाट सहकार्य गर्नुपर्छ । जहाजको उडान, अवतरण तथा इन–रूटमा निर्देशिकाअनुसार छन् वा छैनन् । सबै निर्क्यौल गर्दै सम्बन्धित व्यक्ति तथा टिमलाई जानकारी गराउनुपर्छ । नयाँनयाँ प्रविधिले पनि यी कामलाई निकै सहज बनाएका छन् । उदाहरणका लागि फ्लाइट डेटा मनिटरिङ । यसबाट जहाजको वास्तविक उडान, अवतरणका साथै इन–रूट तथा ह्यान्डलिङबारे सही तथ्यांक प्राप्त हुन्छ । भवितव्य हुने घटनालाई कसरी न्यूनीकरण गर्न पूर्वाभ्यासहरूले पनि सचेत बनाउँछन् ।
६. अडिट
अडिटलाई यहाँ दुई भागमा राखिएको छ । प्राविधिक विभागले गरेका कामहरू अन्तर्राष्ट्रिय संघसंस्था, विमान निर्माता कम्पनी तथा नेपाल नागरिक उड्डयन प्राधिकरण निर्देशिका बमोजिम छ वा छैनन्, त्यसलाई नियमित अनुगमन गर्नुपर्छ ।
प्राविधिक विभागले गर्दै आएको मर्मतसम्भारको अडिट गुणस्तर मापन विभागले गर्छ । यो स्वतन्त्र विभाग हो । यसमा कार्यरत जनशक्ति चनाखो हुँदै विमान निर्माता कम्पनी तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिकाअनुसार भए, नभएको सबै जाँच गर्छन् । अर्को हो यात्रु सेवा तथा कार्यप्रणालीसम्बन्धी अडिट यसमा दैनिक रूपमा हुने कामहरू कम्पनी तथा प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार छ कि छैन भनेर सबै स्टेसनमा नियमित अन्तरालमा अनुगमन भइरहेको हुन्छ । अडिटरले दिएको निर्देशन कम्पनी र कर्मचारीले तुरून्तै पालना गर्नुपर्छ । विमान कम्पनीका अडिटर पनि निर्देशिकाअनुसार प्रमाणित हुनुपर्छ ।
७. वित्तीय व्यवस्थापन
वित्तीय व्यवस्थापन राम्रो हुने कम्पनीले समग्रमा आफ्ना सबै सेवा गुणस्तरीय बनाउँछन् । उडान सेवा सञ्चालन निकै महँगो प्रविधि र जनशक्ति हो । यसलाई व्यवस्थापन गर्न त्यति सजिलो छैन । खर्चहरूलाई किफायती बनाउनुका साथै उडान सेवालाई फराकिलो बनाएमा व्यवस्थापन गर्न सकिन्छ । प्रविधिले हिसाबकिताब दुरूस्त राख्न निकै सघाउँछ ।
(वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन । ) सेतोपाटीबाट साभार
विचारबाट थप समाचार
सन्तानलाई संस्कार कि सम्पत्ति
पर्यटकीय राजधानी घोषणापछि पोखराले गर्नुपर्ने काम
तपाईको मोबाइल हरायो ः अब गूगलले भेटाइदिनेछ तपाईको फोन
जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८