TRENDING

‘फेसबुक र इन्स्टाग्रामबाट कसरी ठगिंदैछन् नेपाली

काठमाडौ । अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा आउने उजुरीहरूको तथ्यांक हेर्ने हो भने डिजिटल माध्यमबाट भइरहेका ठगीको अवस्था एकदमै भयावह बन्दै गएको देखिन्छ । उजुरीको जुन संख्या छ, त्यो हेर्दा विभिन्न स्वरुपमा डिटिजल माध्यमबाट मानिसहरू लुटिइरहेका छन् ।

इन्टरनेटमा मानिसको पहुँच बढ्दो छ । सामाजिक सञ्जालमा लगभग सबै जसोको खाता छ । कतिपयले बुझेर कतिले रहरै रहरमा सामाजिक सञ्जालमा खाताहरू खोलेका छन् । सबै मानिस सामाजिक सञ्जालमै हुने भएपछि कसैलाई भेट्न, ठग्न वा लुट्न अन्त कतै जानु जरूरी नै भएन ।
फेसबुक, इन्स्टाग्राम लगायत सञ्जालमार्फत विभिन्न मानिस भेट हुने भइहाले । त्यहींबाट कहिले वैदेशिक रोजगारीको विज्ञापन राखिन्छ, कहिले विभिन्न सामान निकै सस्तोमा पाइने भनेर लोभ्याउने गरिन्छ । अनि, प्रयोगकर्ताहरूले कसरी त्यो सस्तोमा आयो भन्ने सोच्दै नसोची विश्वास गरिदिंदा ठगीमा पर्ने गरेका छन् ।

ठगीमा संलग्न गिरोहले तपाईंले चाहेका कुराहरू कुनै कम्पनीका डिमाण्ड लेटरदेखि सम्झौताका कुराहरू सबै दुरुस्तै पठाइदिन्छन्, त्यसलाई प्रयोगकर्ताले विश्वास गर्ने गरेको देखिन्छ । त्यसपछि भने अनुसार विभिन्न ठाउँमा रकम पठाउनुहुन्छ र ठगिएँ भनेर प्रहरीसमक्ष आउनुहुन्छ ।