TRENDING

के बोले दिलमानले, जसले धादिंगको नेतृत्व पंक्तिमा ल्यायो तरंग

धादिङ । मतदानको दिन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनले दिएको अभिव्यक्तिले धादिङमा नयाँ तरङ्ग ल्याएको छ । त्यो हो, ‘धादिङ क्षेत्र नम्बर २ मा गठबन्धन र कांग्रेसका उम्मेदवार हराऊ अभियान पो चलाउलान् जस्तो छ ।’

प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएर पार्टीबाट बिच्किई बसेका दिलमानले आइतबार किन्ताङफेदीमा भाषण गर्दै अहिले केन्द्रीय नेताहरुको निर्णयको पर्खाइमा बसिरहेको र आफ्नो पक्षमा सकारात्मक निर्णय नभए मंसिर ४ गतेको मत परिणाम नै उल्टाइदिने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले कांग्रेस र गठबन्धनमा रहेका दलहरुमा मात्रै होइन नेकपा एमालेका नेता,कार्यकर्तामा पनि दिलमानले अब कस्तो निर्णय लेलान् भन्ने विषयले राम्रै स्थान पाएको छ ।

एक पटक मन्त्री भइसकेका दिलमान पाख्रिन धादिङको उत्तरी क्षेत्रका मतदातामाझ प्रभावशाली व्यक्ति हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाख्रिन धादिङ–२ मा थोरै मतले पराजित भएका थिए । अहिले पार्टीकै उम्मेदवारको विपक्षमा उभिन सक्ने अभिव्यक्ति आएपछि जिल्ला र केन्द्रका कांग्रेस नेताहरुको ढुकढुकी मज्जैले बढेको छ ।

‘पाख्रिनको अन्तरघातले एक त गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीलाई घाटा हुनेछ र अर्काेतिर नेकपा एमालेका उम्मेदवारलाई फाइदा हुन सक्छ । त्यही अन्तरघातको मत अधिकारीको लागि तगारो बन्नेछ, निर्वाचन हार्न सक्छन् र त्यसको मौका लोहनीले उठाउन सक्नेछन्’, धादिङका आम कार्यकर्तामा सोमबारदेखि फैलिएको तरंग यही हो ।

सोमबार दामन पाख्रिन स्मृति दिवसमा किन्ताङफेदीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिलमानले भने– ‘केन्द्रका नेताहरुले के गर्दा रहेछन् भन्ने कुराको पर्खाइमा छु । समयभित्रै केही गर्न सक्नुभएन भने मंसिर ४ गते हुँदै गरेको निर्वाचन कसको पक्षमा जान्छ भन्ने कुरा त्यतिबेला मात्रै थाहा पाउनुहुनेछ ।’

उनले थपे–‘अहिले तत्कालै गर्नुपर्ने कुरा के हो मलाई थाहा छ, धादिङको दुबै क्षेत्रका साथीहरु दुखित छन् । दिनमा सयौं टेलिफोन मलाई आइराखेको छ । धादिङ जिल्लाको २ नम्बर क्षेत्रका गठबन्धन र कांग्रेसलाई जिताउन के गर्ने भन्ने कुरा नेतृत्वले विवेक पुर्याउनुभएन, समयमै मिलाउन सक्नुभएन भने मंसिर ४ गतेको मतदानको परिणामले त्यतिखेर के बोल्छ त्यही हुन्छ । मैले यति भनेपछि तपाईंहरु सबैले कुरा बुझ्नु भयो होला ।’ पार्टी नेतृत्वले आफूलाई खेलौना मात्रै बनाएको उनको तर्क थियो ।

टिकट वितरणदेखि पार्टीमा असन्तुष्टि

दिलमान कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवाकै टिमको नेता हुन् । त्यही टिमबाट केन्द्रीय सदस्य जितेका थिए । अघिल्लो पटक झिनो मतले पराजित भएका दिलमान यो पटक पनि आफैले टिकट पाउने विश्वासमा थिए । शेखर समूहमा रहेका जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएपछि केन्द्रीय समितिप्रति रुष्ट बने ।

अधिकारीले टिकट ल्याएको दिनदेखि केन्द्रीय सदस्यको भूमिकामा जिल्ला पार्टीको आन्तरिक कुनै पनि गतिविधिमा सहभागी थिएनन् । यही बीचमा आइतवार कांग्रेस धादिङकै पूर्व सभापति दामन पाख्रिनको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पुगेका थिए । स्वर्गीय दामन दिलमानका बुबा हुन् ।

उनले प्रत्यक्ष रुपमा गठबन्धनलाई भोट हालौं,गठबन्धनलाई जिताउनु पर्छ नभनेपनि गठबन्धनलाई भोट नहालौं पनि भनेनन् । तर, दुई तीन दिनभित्र नेपाली कांग्रेसका केन्द्रीय समिति र जिल्लाका नेताहरुले आफ्नो मागहरुलाई उचित सम्बोधन नगरे मंसिर ४ को निर्वाचन परिणाम नै फरक आउने चेतावनी दिए । आफ्नो माग के थियो भन्नेबारेमा भने प्रष्ट खुलाएनन् ।

नजिकका कार्यकर्ताहरुसंँगको कुराकानीमा बुझ्दा आगामी संसदमा कुनै न कुनै भूमिका खोजेको हुन सक्ने बुझ्न सकिन्छ । केन्द्रीय नेतृत्वमा अरु भूमिका खोजेको भनेर पनि बुझ्न सकिन्छ ।

नेविसंघ धादिङका पूर्व सचिव एवं उत्तरी क्षेत्रका प्रभावशाली युवा नेता डेविड घले,नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष सीतामाया चोदेनलगायतले पनि दिलमानको पक्षमा खुलेरै अभिव्यक्ति दिएपछि झनै धादिङ–२ मा कांग्रेसको माहोल बिग्रिन सक्ने देखिएको छ ।

यता जिल्ला नेतृत्वले भने उत्तरी भेगबाट दिलमानको माग गर्ने समर्थक धेरै रहेको र ती समर्थक मतदाताको सेन्टिमेन्ट क्याच गर्न मात्रै दिलमानले त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् । ‘दिलमान सबैको सम्मानित नेता हुनुहुन्छ, आक्रोश पोख्नु एउटा कुरा हो’, कांग्रेस जिल्ला सचिव विकास श्रेष्ठ भन्छन्– ‘जिल्ला र केन्द्रीय नेतृत्वले समन्वय गरिरहेको छ । निरन्तर सम्पर्क र कुराकानी भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ । पार्टीको निर्णय शीरोधार्य हुन्छ भन्नुभएको छ ।’

-जनआस्थाबाट