TRENDING

सिमेन्टको ५० र डण्डीको मूल्य ७ रुपैयाँले घट्यो

काठमाडौं । दशैं, तिहार र छठ पर्व सकिएसँगै निर्माणजन्य सामग्रीको मूल्य पनि घट्न थालेको छ । चाडपर्व सकिएसँगै निर्माणको अफ सिजन हुँदा सिमेन्ट तथा डण्डीको मूल्य घट्न थालेको हो ।

निर्माण व्यवसायीहरु अहिले मूल्य घट्न थालेको बताइरहेका छन् । अहिले निर्वाचन नजिकिँदा पनि निर्माणका कामहरु कम हुँदा र सामानको मागमा पनि कमि आउँदा निर्माण सामग्रीको मूल्य घटेको उनीहरुको भनाइ छ । यस्तै बैंकमा लगानीयोग्य पुँजीको अभाव हुँदा पनि त्यसको मार निर्माण क्षेत्रमा पनि परेको हो । व्यवसायी संघका उपाध्यक्ष दीपक श्रेष्ठ दशैं तिहार सकिएसँगै निर्माण सामग्रीको मूल्य घटेको बताउँछन् । दशैं अघिको तुलनामा पछिल्लो समय सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो भएको उनको भनाइ छ ।

‘निर्माणको अफसिजन तथा तरलता अभावका कारण अहिले निर्माण क्षेत्रमा मन्दी आएको छ, अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन छ, खपत कम भएपछि मूल्य घटेको हो’, उनले भने, ‘दशै अगाडीको तुलनामा डण्डी किलोमै ७ रुपैयाँ र सिमेन्टमा ५० रुपैयाँसम्म मूल्य घटेको छ, निर्माण सामग्रीको अफ सिजन र बैंकले पैसा नदिम्दा निर्माण सामग्रीको खपत न्यून भयो ।’

अफ सिजन र सिजनमा निर्माण सामग्रीको मूल्यमा खासै फरक नभएतापनि हाल तरलता अभावका कारण व्यापार नोक्सानीमा गएको उनले बताए ।

उनले पछिल्लो समय खपतमा कमी आउँदा निर्माण सामग्रीको बजार सुस्ताएको बताए । व्यापार नभए पनि व्यवसायीहरुले नोक्सानीमै रहेर कर्मचारीको व्यवस्थापन गर्ने काम गरिएको उनले बताएका छन् ।

उपाध्यक्ष श्रेष्ठले मंसिर ४ गतेको निर्वाचनपछि निर्माण सामग्रीले बजार पाउने आशमा व्यवसायी रहेको बताए । निर्वाचनका कारण सरकारी कार्यालयबाट हुने अधिकाशं भुक्तानी रोकिएकोे कारण पनि अहिले निर्माणजन्य काम हुन नसकेको उनले बताए ।

तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । निर्माण सामग्री व्यापार संघका महासचिव टंक नेपाल निर्माण सामग्रीको बजारमा मन्दी आएको बताउँछन् । उनले निर्माण सामग्रीको मागमा कमी आएपछि मूल्य अस्थीर रहेको बताए ।

‘कहिले माग उच्च हुँदा पनि मूल्य बढेको हुँदैन कहिले माग न्यून हुँदा समेत मूल्य बढ्ने गरेको छ, भारतीय बजारमा निर्भर हुँदा मूल्य अस्थिर भएको छ, उनी भन्छन्, तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य पनि घटेको हो ।’

यस्तै, सर्वोतम सिमेन्टका जनरल म्यानेजर जगनाथ दाहालले पनि अहिले कम्पनी अनुसार सिमेन्टको मूल्य फरक फरक रहेको धारणा राखे । उनका अनुसार सिमेन्टको कतिपय उद्योगले घटाएको पनि हुन सक्ने धारणा राखे ।

उनले पनि बैंकबाट घर बनाउनका लागि कर्जा नपाइने भएकै कारण सिमेन्टको बजार खस्किएको बताए । अहिले बजारमा प्रतिबोरा सिमेन्टको मूल्य ६५० रुपैयाँदेखि ७५० रुपैयाँसम्म कारोबार भइरहेको छ भने स्टीलको केजीको ९५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कारोबार भइरहेको उद्योगी व्यवसायीहरु बताउँछन् ।