TRENDING

९० दिन भित्र नक्सा पास गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले ९० दिन भित्र नक्सा पास गर्न आग्रह गरेको छ । महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको हो । महानगरको शहरी व्यवस्थापन विभागले बिहिवार (आज) एक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ ।

नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही प्रक्रिया अघि बढाउने पनि चेतावनी दिएको छ । ‘मापदण्ड अनुकूल रहेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । ९० दिनभित्र नक्सा पास नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गरिने महानगरले जनाएको छ।

यस्तै महानगरले घरको सीमा पर्खालको नक्सा पास गर्न पनि भनेको छ । नक्साविनै बनाइएका सीमा पर्खाल ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ । घरधनीले सीमा पर्खाल नभत्काए महानगरले भत्काइदिने पनि चेतावनी दिएको छ ।