TRENDING

१७ घण्टापछि रोकियो जोरपाटीमा निस्केको ग्यास सहितको बालुवाको मुस्लो

काठमाडौँ । काठमाडौंको जोरपाटीमा एकघरमा बोरिङ खन्ने क्रममा निस्केको ग्यास सहितकोे बालुवाको मुस्लो करिब १७ घण्टापछि रोकिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित सन्तकुमार लामाको घरमा बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए । वडा अध्यक्ष सुवेदीका अनुसार राति ३ बजेर १५ मिनेटमा बन्द भएको जनाइृएको छ । अहिले अवस्था सामान्य छ । लोसेटार टोलमा अहिले आगमन सहज बनाइएको उनले जानकारी दिए ।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो । ग्याससहित लेदो निस्किएको ठाउँमा अहिले एक वर्ग फिटको खाल्डो बनेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । त्यस ठाउँमा अहिले हिलो थुप्रिएको छ । लेदोसहितको ग्यास निस्कँदा सय मिटर वरिपरिको क्षेत्र प्रभावित भएको उनले जानकारी दिए । लेदो हटाउनका लागि नगरपालिकाले तयारी गरिरहेको उनले जानकारी दिए ।