TRENDING

जंगलभित्र रहेका यस्ता छक्कै पार्ने घरहरू

संसारभरि केही यस्ता रोचक घरहरू बनाइएका छन् र ती जंगलभित्र बनाइएका छन्, ती हेर्दा हरकोहीले छक्क परेर वाह भन्छन् नै ।

संसारभरिका त्यस्ता अनौठा घरहरूको डिजाइन हेरी चकित पर्दै ट्राभल प्लस लिजर म्यागेजिनले एउटा सूची नै तयार पारेको छ ।

आज हामी तिनै घरका डिजाइन र तिनका विशेषता हेर्नेछौँः

१. नगाला ट्रि हाउस, दक्षिण अफ्रिका

यो नगाला ट्रि हाउस क्रुगर नेसनल पार्क, दक्षिण अफ्रिकामा छ । यो पारदर्शी घरमा बस्नुको मज्जै बेग्लै छ । सौर्य ऊर्जाका कारण यहाँ बिजुली २४ सै घण्टा उपलब्ध हुन्छ । पाँचतारे होटलले यहाँ खानपिनको व्यवस्था मिलाउँछ । यहाँबाट रात्रिकालीन आकाशे दृश्य हेर्नु निकै आनन्ददायक हुन्छ । जंगली जनावरको त झन् कुरै भएन । यस्तो ठाउँमा तपाईंलाई डर लागे, एक फोनको भरमा तुरून्त सुरक्षादस्ता आइपुग्छ ।

२. प्लाया भिभा ट्रि हाउस, मेक्सिको

यसलाई इको लक्जरी होटल भनेर नामकरण गरिएको छ । यस होटलमा १८ वटा कोठा छन् । हालै ६ वटा नयाँ बाँसद्वारा निर्मित घर पनि बनाइएका छन् र यी सबै पाम ट्रिमाथि बनाएका छन् । यसका सुन्दर डिजाइन नै विशेष छन् । यसलाई केहीले जेट ट्रि हाउस नामकरण पनि गरेका छन् ।

३. ग्रिन ओ ट्रि हाउस, मोन्टाना, अमेरिका

पहाडको अग्लो ठाउँमा २३ फिट अग्लो गरी बनाइएको यो सुविधासम्पन्न घर वरिपरि घना जंगल छ । यहाँ हाइकिङका लागि आउनेहरूका लागि बसोबासका लागि निर्माण गरिएको हो ।

४. सेक्रेट बे, डोमिनिक रिपब्लिक

क्यारेबियन मुलुक डोमिनिक रिपब्लिकको यो ठाउँका बारेमा जो कोहीलाई थाहा छैन । त्यसैले सेक्रेट बे नामकरण गरिएको हो । त्यसै पनि धेरै टापुहरूद्वारा निर्मित डोमिनिक रिपब्लिकको कुन टापुमा यो घर छ भन्ने कुरा केही सीमित मानिसहरूलाई मात्र थाहा छ । अग्लो पहाडमा सुविधासम्पन्न यो होटल यस्तो ठाउँमा कसरी बन्यो होला भन्ने चकित पर्ने गरी बनाइएको छ ।

५. ट्रि होटल, स्विडेन

स्विडेनका प्रख्यात डिजाइनर कम्पनी बिजार्के इन्गेल्स ग्रुपले यसलाई डिजाइन गरेका हुन् । यसलाई चराको गुँड शैलीमा निर्माण गरिएको छ । र, रोचक के छ भने यहाँ चराहरूले गुँड लगाउँछन् पनि । उनीहरूका लागि त्यो सजिलो पारिदिएको छ । यसमा पारदर्शी भित्ताहरू छन् । रूफटप दृश्य मनोहर छ । यहाँबाट जंगलको ३६० डिग्रीको कोण बनाएर सर्वत्र हेर्न सकिन्छ ।

६. ट्रि हाउस, पुन्टा सायुलिटा, मेक्सिको

६ हजार स्क्वायर मिटर फिटको यो पनि एउटा लक्जरी होटल हो । यसको सुन्दर पक्ष भने एकातिर जंगलैजंगल देखिन्छ भने अर्कोतिर समुद्रै समुद्र देखिन्छ । यहाँ एउटा सुविधासम्पन्न पाँच तारे होटलका सबै सुविधा पाइन्छन् । हाइकिङ र बाइकिङ गोरेटाहरू यहाँका सुन्दर पक्ष हुन् ।

७. ट्रि हाउस, चिउटन ग्लेन, बेलायत

बेलायतको प्रख्यातमध्येमा चिउटन होटल समूह पर्छ । यसैले पर्यासमस्यालाई ध्यानमा राखेर यहाँ होटल बनाएको छ । जसलाई ब्ल्यु फरेस्टलेडिजाइन गरेको छ । चिउटन बन्नी भ्यालीमा बनाइएको यो होटलबाट जंगलको सुन्दर दृश्य हेर्न सकिन्छ ।

८. सेक्रेट ट्रि हाउस, ब्लु माउन्टेन्स, अस्ट्रेलिया

अस्ट्रेलियाको ब्लु माउन्टेन्स त्यहाँको रेन फरेस्ट अर्थात् मज्जाले पानी पर्ने भेगका रूपमा चिनिन्छ । यहीँ रूखमाथि बनाइएको यो सुन्दर घर हो । यहाँबाट एकसाथ दुई वटा नेसनल पार्कका दृश्य नियाल्न पाइन्छ ।

९. कोना लक्जरी ट्रि हाउस, हवाई, अमेरिका

यो ट्रि हाउसको सुन्दरताका कारण सन् २०२१ मा एयरबिएनबी नामक वेबसाइटमा सबैले सबैभन्दा बढी रूचाएको ठाउँका रूपमा मतदान गरेका थिए । यहाँबाट सूर्यास्तको सुन्दरता अवलोकन गर्न हत्ते गर्नेहरू आइपुग्छन् ।

१०. किमाला ट्रि पुल भिला, थाइल्यान्ड

घना जंगलभित्र झुसिल्किरा ओथारो बस्ने घरजस्तो डिजाइनमा बनाइएका यी घरहरू थाइल्यान्डको फुकेटमा छन् । यी घरहरू रूखमाथि बनाइएका छन् । दुई तले यी घरहरूमा पाँच तारे होटलका सुविधाहरू छन् । एउटा घरमा चार जनासम्म मज्जाले रमाइलो गर्न सक्छन् ।