TRENDING

‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै

काठमाडौं– मंगलबार ट्रेलर सार्वजनिक भएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ र अभिनेता आमिर खानको फिल्म ‘लालसिंह चड्डा’बीच भिडन्त हुने भएको छ। दुवै फिल्म एकसाथ सिनेमा हलमा प्रदर्शनमा आउने भएका छन्। ‘रक्षा बन्धन’ र ‘लालसिंह चड्डा’ अगस्ट ११ मा सिनेमा हलमा प्रदर्शनमा आउने भएका छन्।

आमिर र अक्षय दुवै बलिउडका चर्चित र सफल कलाकार हुन् भने उनीहरुका फिल्म प्रदर्शनमा आउँदा एक किसिमको माहोल निर्माण भएको हुन्छ। यसपटक भने बलिउडका यी दुवै ठूला कलाकारको फिल्म एकसाथ प्रदर्शनमा आउने भएको छ।

अक्षयले निरन्तर फिल्ममा काम गरिरहेका छन्। पछिल्लो पटक उनको अभिनय रहेको फिल्म ‘बच्चन पाण्डे’ प्रदर्शनमा आएको थियो, जसले खासै राम्रो सफलता हासिल गर्न सकेन्। त्यसयता पनि अक्षय निरन्तर फिल्ममै व्यस्त छन्। जसकारण उनको फरक किसिमको अवतार देखिएको फिल्म ‘रक्षा बन्धन’ हेर्न आउने दर्शकमाथि पनि असर पर्ने अनुमान गरिएको छ।

आनन्द एल रायले निर्देशन गरेको अक्षयको ‘रक्षा बन्धन’मा उनीसँगै भूमि पेडनेकर मुख्य भूमिकामा छिन्। फिल्ममा एक दाजु र बहिनीबीचको प्रेमलाई प्रस्तुत गरिएको छ।

हेर्नुहोस् ‘रक्षा बन्धन’को ट्रेलर :

 हेर्नुहोस् ‘लालसिंह चड्डा’को ट्रेलर  :

‘लालसिंह चड्डा’मा आमिरसँगै करिना कपुर, नागा चैतन्य र मोना सिंहको अभिनय रहेको छ। तर, अमेरिकी फिल्म ‘फरेस्ट गम्प’को रिमेक भएकाले फिल्मले दर्शक तान्न नसक्ने र तानिहालेमा पनि ओरिजिनल फिल्म हेरेकालाई चित्त बुझाउन नसक्ने जोखिम ‘लालसिंह चड्डा’लाई छ।  सिनेमा हलमा यी दुईमध्ये कुन बढी सफल होलान त? त्यो अगस्ट ११ पछि नै थाहा हुनेछ।