TRENDING

जहाज दुर्घटना : चौध जनाको शव भेटियो

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १४ जनाको शव भेटिएको छ । शव काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोओर्डिनेशन सेन्टरका अनुसार सबै शव काठमाडौं ल्याउने तयारी भए पनि मौसम प्रतिकूलतका कारण कति समय लाग्ने भन्ने यकिन छैन। हालसम्म १४ शव फेला पारिएको र अन्य ८ को खोजी भइरहेको सेन्टरका प्रवक्ता देवचन्द्र कर्णले बताउनुभयो।

दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेकाले हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी लैजान र सङ्कलित शव ल्याउन समस्या भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाली सेनाको एक, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक वटा हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छाडेर नाउरीकोट आएको थियो ।

कुहिरो हट्नैवित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने र सङ्कलित शव ल्याउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हँुदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो ।

कुहिरो लागेको र प्रतिकूल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट नेपाली सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए । जहाजमा जर्मनीका मिक ग्रयाट, युवी विल्नर सहित चार भारतीय नागरिकहरु अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋष्तिका त्रिपाठी र वैभवी बाण्डेकर रहेका थिए। त्यसैगरी नेपाली यात्रुहरुमा बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ रहेका थिए। चालक दलमा प्रभाकरण घिमिरेसहित सहचालक उत्सव पोखरेल र विमान परिचारिका किस्मी थापा रहेको बताइएको छ ।