TRENDING

मर्जरका लागि तीन कम्पनीले बीमा समितिबाट प्राप्त गर्यो सैद्धान्तिक सहमति

काठमाडौं । विभिन्न तीन वटा इन्स्योरेन्स कम्पनीहरुले मर्जरमा जानका लागी बीमा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् । बिमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि, अर्थात वैशाख २३ गते समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए । सो कम्पनीहरुलाई समितिले मर्जरका लागि यसअघि नै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।