TRENDING

म्याग्दीको बाँदुकमा सुन्तला खेती विस्तार

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो ।

समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र खेतीका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गरेपछि स्थानीय युवा काजु फगामीको अध्यक्षतामा समूह गठन गरी सुन्तला खेतीमा स्थानीय लागेका थिए । समूहलाई गाउँपालिकाले ५० प्रतिशत किसानको साझेदारी रहने गरी रु पाँच लाख बराबरको बजेटबाट हाते ट्र्याक्टर, सिँचाइ पाइप, सिँढी, आरी, सिकेचर लगायतका उपकरण सहयोग गरेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा सुन्तला खेती विस्तारका लागि गाउँपालिकाले समूहलाई रु तीन लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमा समूहले समेत रु तीन लाख थप गरी तालिमसँगै सुन्तला खेतीका लागि आवश्यक पर्ने, आरी, सिँढी, स्प्रे मेशिन, ठूलो सिकेचर, सिँचाइ पाइप, ड्रमलगायतका सामग्री गरिद गरिएको अध्यक्ष फगामीले बताउनुभयो ।

समूहले कृषि ज्ञान केन्द्रसँग किसानको १० प्रतिशत साझेदारी रहने गरी रु दुई लाख २२ हजारमा सुन्तला खेतीका लागि सिँचाइ ट्याङ्की र इन्टेक निर्माण र पाइप खरिद गरेको छ । उक्त कार्यालयले रु एक लाख २० हजारमा १० प्रतिशत किसानको साझेदारी रहने गरी थ्रेसर मेशिन र हाते ट्र्याक्टरसमेत उपलब्ध गराएको छ ।

बाँदुकका किसान सुन्तला खेतीसँगै व्यावसायिक आलु खेतीमा समेत आबद्ध भएका छन् । यहाँका स्थानीयवासीले खायन आलुको व्यावसायिक खेती सुरु गरेका छन् । स्थानीय कृषक चुकबहादुर शेरपुजाको अध्यक्षतामा ‘बाँदुक खायन आलु समूह’ गठन गरी व्यावसायिक आलुतर्फ लागेका छन् । यस समूहले गाउँपालिकाको रु ६ लाख र समूहको रु ६ लाख साझेदारीमा २०० रोपनी जग्गामा सामूहिक खायन आलुको खेति सुरु गरेका छन् ।

समूहमा आबद्ध भएका १७ किसानले आफ्नो जग्गासहित अन्य जग्गा भाडामा लिएरसमेत १५ हजार किलोग्राम आलुको बीउ रोपेको समूहका सदस्य लक्ष्मण पुर्जाले जानकारी दिनुभयो । गाउँमा परम्परागत खेती छाडेर बाँझो रहेको जग्गामा सुन्तला र आलु खेती विस्तार गरिएको हो ।