TRENDING

फाइजर खोप नेपाल आइपुग्यो, अब १२ देखि १७ वर्षका लागि खोप अभियान संचालन हुने

काठमाडौं । २० जिल्लामा लगाउन रोकिएको फाइजर खोप अभियान अब छिटै शुरु हुने देखिएको छ । खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार ६५० मात्रा खोप र घोलक नेपाल ल्याइएको छ। आज दिउँसो उक्त स्वास्थ्य सामग्री नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।

पुस १३ गते २० जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका लागि संचालन गर्ने भनेको खोप अभियान खोपलाई आवश्यक पर्ने घोलक र सिरिन्जको अभावले स्थगित भएको थियो । अब सिरिन्ज आउनेबित्तिकै सरकारले काठमाडौं उपत्यका सहित ८ जिल्लामा फाइजरको खोप लगाउने बताएको छ । हाललाई भने काठमाडौं उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ ।

थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाडौं, भक्तपुर र ललितपुरका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले बताउनुभयो। २/३ दिनभित्रै यी तीन जिल्लाका बालबालिका लागि फाइजर खोप दिइने उहाँको भनाई छ ।

उहाँका अनुसार फाइजर खोपको दोस्रो डोज सुनिश्चिता गरेर काठमाडौं उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप दिन लागिएको हो ।