TRENDING

लामो समयदेखि स्थगित गण्डकी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति जनाउँदै हालै सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो । बजेट नसच्याए बैठक चल्न नदिने एमालेको अडानले चार दलको गठबन्धन सरकारले बैठक बोलाउन सकेको थिएन । काटिएको योजनाको स्रोत सुनिश्चित गरेर अगाडि बढाउने, अघिल्लो सरकारका प्राथमिक र दीर्घकालीन योजनालाई निरन्तरता दिने लगायतका दुई दलबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो । जेठ २९ गते नियुक्त भएका गठबन्धनका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते अर्थमन्त्रीकोसमेत जिम्मेवारीबाट ३० अर्बभन्दा केही बढीको बजेट ल्याएको थियो ।

बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको थियो । दलबीच सहमति गर्नका लागि पटक–पटक छलफल भएको थियो । पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र हालका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीबीचको वार्तामा बैठक अगाडि बढाउने सहमति भएको हो ।

दुबै दलको वार्तापछि नियमित रुपमा बैठक चल्न दिने सहमति भएको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । ‘जसरी योजना र बजेटमा पूर्वाग्रही हिसाबले कैंची लगाइएको थियो, त्यसलाई सच्याउने भनिएको छ । प्राथमिक योजनालाई निरन्तरता दिने सहमति पछि बैठक चल्न नदिने भएका छौं,’ अधिकारीले भने, ‘हामी अड्कोमात्र थाप्ने काम गर्दैनौं ।’