TRENDING

मकैबारीमा बँदेल धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू

बैतडी । मकैबारीमा बँदेल आएपछि धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू भएको छ । बारीमा जंगली बँदेल मार्नका लागि करेन्ट छाडिएको र सोहि करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । बैतडी जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको बताइएको छ ।