TRENDING

आजबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुरु

काठमाडौं । आजबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन शुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार गत जेठ ११ मा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन डाक्नुभएको थियो । आजको सभामा प्रदेश सभा संसदीय दलका नेताहरुको मन्तव्य जारी हुने छ । यस्तै बजेटका सिद्धान्त र प्राथमिकताहरु भोली प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

यहि अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् । उनी बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् , त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार गुरुङले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत नपाएको खण्डमा प्रदेश मध्यावधि निर्वाचनमा धकेलिने सम्भावना छ । ३ जना सांसद रहेका राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र उनलाई विश्वासको मत पुग्ने स्थिति छ । यस अघि भने जनमोर्चाले काँग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएको थियो । प्रदेश सभामा सत्तारुढ एमालेको २८, काँग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

गण्डकीमा यस वर्ष बजेट घट्ने

प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट आउने अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिने भएको हो ।

अर्थमन्त्री किरण गुरुङका अनुसार सबै मन्त्रालयलाई सिलिङ पठाइसकिएको छ । ‘मन्त्रालयहरुमा सिलिङ गएको छ, अघिल्लो वर्षको मौज्दात समेत गरेर ३१ अर्बसम्मको बजेट आउन सक्छ,’ गुरुङले भन्नुभयो। संघले गण्डकीलाई राजश्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट समान साढे ७ अर्बको सिलिङ पठाएको छ ।

गुरुङका अनुसार कोरोना र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भएको छ । कोरोनाको दोस्रो लहरसँगै तेस्रो लहरपनि आउने खतरा भएकाले अहिले स्वास्थ्य, अस्पतालको क्षमता वृद्धि गर्न स्वास्थ्यलाई प्राथमिकता दिइएको गुरुङले बताउनुभयो ।

प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिने जनाइएको छ । प्रदेशले व्यवसायीहरूले कोभिडका कारण थलिएको व्यवसाय उकास्न लिएको ऋणको ब्याज तिर्न सुरु गरेको छ । प्रदेशमा व्यवसायीहरूले साढे ७ अर्बभन्दा बढी ऋण मागेका छन् । यो कोष ३ वर्षसम्म चल्ने मन्त्री गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षको योजना, उपचार, महामारी रोकथाम र पूर्वाधारलाई जोड दिइएको मन्त्री गुरुङले भन्नुभयो ।

१७ जेठमा बजेटका सिद्धान्त प्राथमिकता

भोलि बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सदनमा नीति कार्यक्रम प्रस्तुत हुने छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ ।

आगामी बजेट अहिलेकै सरकारले ल्याउने अर्थमन्त्री गुरुङको भनाई छ । नियमित अधिवेशनबाट बजेट आउने र त्यो सम्भव नभएमात्र अध्यादेशबाट भए पनि प्रदेश सरकारले बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था आउने उनी बताउँछन् ।