TRENDING

६ वटा अस्पताल चाहार्दा पनि कुनै ले दिएन भर्ना, बिरामीको ट्याक्सिमै निधन

पोखरा । स्याङ्जा पुतली बजार घर भई हाल पोखरा बुद्धचोक बस्ने एक ६२ वर्षिय महिलाको अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको छ । स्वास्थ्य उपचारका लागि नै पोखरामा डेरा लिएर बसेका मृतक धनमाया गुरुङ र नीजका श्रीमानले पोखराका ६ वटा अस्पताल चाहार्दा समेत भर्ना नपाएपछि धनमायाको ट्याक्सिमै प्राण गएको हो ।

धनमाया दमको रोगी थिइन् । बेलाबेलामा दम बढिरहन्थ्यो भने नीजका श्रीमान नशाका बिमारी थिए । दुवैजनाको स्वास्थ्य समस्याका कारणले गर्दा नै उनीहरु राम्रो हस्पिटलहरु भएकै ठाउँमा डेरागरी बसेका थिए । बिहिबार साँझ धनमायालाई दम बढेर एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको थियो । छोरी घरमा नभएकाले छिमेकिहरुको सहयोगमा ट्याक्सि लिएर धनमायाले उपचार गर्न गइरहने पोखरा सिर्जनाचोकको मेट्रोसिटी अस्पताल पुगे । श्वासप्रश्वासमा समस्याको बिमारी भन्ने बित्तिकै कोरोना हुनसक्ने आशंकामा अस्पतालले भर्ना लिन मानेन र बेड नभएको भन्दै गेटबाटै फर्काइदियो । ट्याक्सि नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तिर हुइँकियो तर चरकमा पनि बेड खाली नभएको भनेपछि पुनः अर्काे अस्पताल चरक मेमोरियल पुर्याइयो । तर उक्त हस्पीटलले पनि सोही बहाना बनायो, भर्ना लिएन । बिरामीलाई निकै गाह्रो भइरहेको थियो , नजिकै रहेको फेवासिटी हस्पिटलमा गुहार्दा त्यहाँ पनि उपचार नगर्ने जवाफ मिल्यो । चिन्तित छिमेकिले उनलाई पालिखेचोकस्थित फिस्टेल अस्पताल पुर्याए । फिस्टेलले पनि बिरामीको अवस्था बारे सोधखोज गरी भर्ना लिन मानेन । त्यसपछि ट्याक्सि उनलाई लिएर मणिपाल अस्पताल पुग्यो ।

मणिपाल शिक्षण अस्पताल पुग्दा १० बजिसकेको थियो । साँझ ७ बजेदेखि हस्पिटल खोज्दा कतै नपाएको भनेपछि हस्पिटलले तत्कालै रु.१ लाख २५ हजार धरौटि रकम जम्मा गरेमा भर्ना लिने बतायो । भनेजति रकम जम्मा गर्छाैं , पहिले बिरामीको उपचार शुरु गर्नुस् भन्दा हस्पिटलले मानेन । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्तिसँग उपचार रकमको अभाव त थिएन तर साथमा भने नभएको कारण रकम जम्मा गर्दा सम्म ढिला हुने भैसकेको थियो । सम्पूर्ण कुराहरु बताउँदै भर्ना लिन अनुरोध गर्यौं र हामी छिमेकि हौं भन्यौं तर अस्पतालले मानेन, छिमेकि महेन्द्रप्रसाद तिमिल्सिनाले बताए । ‘यस्तो अमानवीय र दिक्दार लाग्दो घटनाले मन बिक्षिप्त बनाएको थियो, रिस पनि उठेको थियो । तर, हामी के नै गर्न सक्छौं र रु’ महेन्द्रले भने ।

अस्पतालहरुले भर्ना लिन नमानेपछि महेन्द्रप्रसादले केही हुन्छ कि भनेर प्रशासनलाई गुहारे । सीडीओको फोन उठेन, जिल्ला प्रहरी अधिकारीले शान्ति सुरक्षाको विषय नभएकाले अस्पतालले भर्ना नलिएकोबारे केही गर्न नसक्ने बताए । रात छिप्पिँदै गइसकेको थियो । तत्काल सवा लाख धरौटी जम्मा गर्ने अवस्था थिएन । छिमकीहरु अस्पतालको खोजीमा मणिपालबाट बाहिरिँदै गर्दा धनमायाले ट्याक्सीमै प्राण त्यागिन् । स्वास्थ्य उपचार गर्न सजिलो होस् भनेरै पोखरामा कोठा भाडा लिएर बसेकी धनमायाले उपचार नपाएरै ज्यान गुमाउनु पर्‍यो । मृत्यूपश्चात् भने अस्पतालले कोभिड परिक्षण गरेर मात्र अन्तिम संस्कार गर्न सुझाएको थियो ,तर हामीले जिउँदो हँुदा परिक्षण नपाएपछि मृत्यूपश्चात् परिक्षण नगराउने बतायौं , छोरी दियाले भनिन् , हस्पिटलको लापरबाहि र वेवास्ताकै कारण आमाले ज्यान गुमाउनुपर्यो । पैसाको कुनै समस्या नभएर पनि उपचार पाउन सकेनौं , उनले बताइन् । धनमायाहरुले उपचार नपाएर मृत्युवरण गर्नु परेको बेला प्रदेश स्वास्थ्य निर्देशनालयले भने बेडको हिसाब गरेर बसेको छ ।

उसका अनुसार कोभिड–१९ को उपचारका लागि गण्डकी प्रदेशमा ११७ आईसीयू र ५० भेन्टिलेटर तथ्यांक छ । त्यसमध्ये पोखराबाहिर जम्मा १५ आईसीयू र ९ भेन्टिलेटर पोखराबाहिरका हुन् । तर कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएकी धनमाया आईसीयू त टाढाको कुरा अस्पतालमा भर्नासमेत पाउन सकिनन् ।

यसले कोरोनाका संक्रमित वा सम्भावित संक्रमितले उपचार पाउन कति कठिन छ भन्ने देखाएको छ । उपचार गर्न नेतादेखि मन्त्रीसम्मको भनसुन चाहिने अवस्था रहेको एक चिकित्सकले सुनाए । केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का एक नेतालाई कोरोनाको लक्षण देखिएको थियो ।

संघीय सांसदले फोन गरेर भनसुन गर्नुका साथै राति नै धरौटी बझाएपछि मात्र बेड पाएको एक कार्यकर्ताले बताए । ‘सर्वसाधारण गम्भीर बिरामी भए उपचार नपाएरै मर्नुपर्ने अवस्था छ’ उनले भने, ‘बेड पाउनै भनसुन गर्नुपर्छ । गम्भीर खालका कोभिड बिरामी र अन्य बिरामीलाई निजी अस्पतालले पनि लिन मान्दैन ।’

केन्द्र सरकारले उपचारबाट हात झिक्नु तथा प्रदेश र स्थानीय सरकारले समन्वय गर्ने संयन्त्र नबनाउँदा पनि यो अवस्था आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर बताउँछन् । प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले भने निजी अस्पतालले बिरामी लिन्न भन्न नपाउने दाबी गरे । तर त्यस्तो घटनामा समन्वय गर्नेबाहेक अधिकार आफूसँग नभएको भन्दै निरिहता देखाए ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले निजी अस्पतालसँग सम्झौता गर्ने र बिरामीको भर्ना, उपचार कसरी गर्ने भन्नेबारे छलफल भइरहेको औपचारिक जवाफ दिइन् ।