

कैलाली । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ । बर्सातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन शुरु हुँदा भजनीका किसानलाई समस्या भएको हो ।
लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ । भजनी–८ का स्थानीयवासी तुलाराम काफ्लेले लगातार वर्षा हुँदा लगाएको धान बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको बताउनुभयो । “बर्सातको डुबानले बर्खे धान रोप्न वञ्चित हामीले रोपेको चैते धानलाई समेत भित्र्याउन मौसमले चुनौती दिइरहेको छ”, काफ्लेले भन्नुभयो, “केही अगाडि धान रोपेका किसानहरुले भित्र्याएको धान पनि सुकाउन नपाउँदा ढुसी पर्ने अवस्था छ ।”
त्यसैगरी भजनीका जयप्रसाद ढुङ्गानाले अधिकांश किसानले धान भित्र्याउन नपाएकाले मौसमले साथ नदिए किसानहरूलाई धान भित्र्याउन निकै चुनौती हुने बताउनुभयो । “बर्सातले बाढीको जोखिम बढ्दै गएको छ । गहिरो ठाउँमा त बाढीले छोइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “बर्सातमा धान नरोप्ने किसानका लागि चैते धान राम्रो भएको थियो । यस्तै भए खाद्यान्न कमी हुने चिन्ता पनि केही किसानमा देखिन थालेको छ ।”
वडा नं ८ सुनाफाँटाका किसान राधा ढुङ्गानाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै धान काट्ने अवस्था भए पनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गर्नुभयो । “पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन हतार थियो । अहिले लगातार वर्षाले चैते भित्र्याउन नदिने हो कि भनेर डरले मन थाम्नै गाह्रो छ”, राधाले भन्नुभयो, “तयारी भएको धान वर्षाअघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्न व्यस्त थियौँ । वर्षा हुन थालेपछि खेतमा पानी पसिसकेको छ ।”
भजनी–३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाउनुभएको छैन । आजभोलि भित्र्याउने तयारीमा रहनुभएका साउदलाई पनि बर्सातले धान थन्क्याउन रोकेको छ । “केही धान भित्र्याउन सफल भएका थियौँ । बढीजसो खेतमै छ”, साउदले भन्नुभयो, “भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसक्यो, खेतको धान पानीका कारण खेतमै कुहिन थालिसक्यो ।”
भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् । भजनी–१ देखि ९ सम्मका किसानले धानबाली बाढीले नोक्सान गर्ने भएकाले चैते धान बढी उत्पादन हुने भएका कारण फागुन चैतमा धान रोप्ने गरेका छन । यो धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्सेनि किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
मतदाता शिक्षाका लागि नमूना मतदान
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७