TRENDING

५३१ जना नेपाली रुसी सेनामा रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

काठमाण्डौ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।

यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको बताउनुभयो । उहाँले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताउनुभयो ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीले बताउनुभयो ।