TRENDING

बागमती सरकारले चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै

काठमाडौ । बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सीमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको हो ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत माघ १२ गतेको मन्त्रिपरिषद् बैठकले निर्देशिका समेत स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद् उक्त बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ स्वीकृत गरेको हो । प्रदेश सरकारले चेपाङ जातिको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङका विभिन्न ६ पालिकामा कार्यक्रम लागू गर्ने गरी निर्देशिका स्वीकृत गरेको हो ।

प्रदेशमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई आर्थिक उपार्जनमा जोड्न चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबिचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्‍याउने भएकाले कार्यक्रम कार्यान्वयनको तयारी मन्त्रालयले गरेको छ ।