TRENDING

इजरायली हवाई आक्रमणबाट एक सयको मृत्यु

जेरुसेलम । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायली हवाई आक्रमणबाट एक सयको मृत्यु

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई रफाहमा आक्रमण नगर्न आग्रह गरेका थिए । रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन् । तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन् । रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ ।

इजरायली सेनाले आक्रमणपछि रफाह सहरबाट हमासले बन्धक बनाएका दुई इजरायली पुरुषलाई मुक्त गरिएको जनाएको छ । इजरायल डिफेन्स फोर्सेज ९आईडीएफले० ले मुक्त भएका बन्धकहरू फर्नान्डो साइमन मार्मन र लुई हारको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । रफाह सहरमा आक्रमण गरेको जनाए पनि इजरायलले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेयता गाजा क्षेत्रमा तनाव जारी छ । उक्त आक्रमणमा एक हजार दुई सय इजरायलीको ज्यान गएको थियो । हमासले इजरायली क्षेत्रबाट २ सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गरेका आक्रमणमा कम्तीमा २८ हजार एक सय प्यालेस्टिनीको ज्यान गइसकेको छ । ६७ हजार ५ सयभन्दा बढी घाइते भएको जनाइएको छ ।