TRENDING

चीनसँगका नाका सञ्चालनका लागि सरकारले विशेष काम गरेको छ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीनसँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गर्नुभएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको दाबी गर्नुभएको हो । उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्न सबैभन्दा धेरै प्राथमिकता दिएको दाबी गर्नुभयो ।

परिणामस्वरुप तातोपानीलगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमतअघि बढाउने बारेमा छलफल गरेको बताउनु भयो । उहाँले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताउनु भयो ।