TRENDING

नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् ।

युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस(युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’

आफूले युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराए ।
उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे । ‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।