TRENDING

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडौँ विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो ।

विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “यसबाट ‘आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको छ”, उहाँले भन्नुभयो ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि अर्पण गर्न आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताउनुभयो । उनीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो ।