TRENDING

पढाईका लागि उमेरले छेकेन , ६१ वर्षको उमेरमा १ कक्षामा पढ्दै चन्तरा

बैतडी । बैतडीको पाटन नगरपालिका ८ की चन्तरा महराको उमेर ६१ वर्ष पुग्यो । तर उहाँ अहिले १ कक्षामा भर्ना हुनुभएको छ । उहाँ आफ्नो नाती नातिनासंगै नियमित रुपमा दैनिक विद्यालय आउनुहुन्छ ।

सुरुसुरुमा नाती नातिनीहरूलाई पुर्‍याउन विद्यालयसम्म आउने गरेकी चन्तरा अहिले बढ्न थाल्नुभएको छ । गत वैशाखमा जनता मावि आरुबाटामा चन्तरा कक्षा १ मा भर्ना भएको विद्यालयका प्रधानाध्यापक राम कुँवरले बताउनुभयो । उमेरले नेटो काट्नै लागेको भए पनि बालबालिका झैँ भएर पढ्न थाल्नुभएको हो । उहाँ अहिले कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहनुभएको छ । विद्यालयका शिक्षकहरूले पढ्न सुझाव दिएपछि आफु पनि भर्ना भएको उहाँले बताउनुभयो । ‘सरहरूले आमा तपाई पनि नाम लेख्न सम्म त सिक्नुहोला पढ्नुस् भन्नुभयो, मैलेपनि भर्ना गरेर पढाई सुरु गरेकी हुँ । अहिले अक्षर चिन्न सके, १ कक्षामा पढाइने धेरै कुरा सिकिसकेँ ।’ उहाँले भन्नुभयो ।

उमेर छँदै पढ्न नपाउँदा उहाँलाई अहिले ठूलो पछुतो छ । चन्तराका लागि विद्यालयबाट पुस्तक, कापी, कलम लगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ । पढाइलाई अझै अघि बढाउने उहाँको धोको पनि छ । पढाइबारे घरपरिवार र समाजबाट पनि उहाँले सकारात्मक सल्लाह र सुझाव पाइरहनुभएको छ ।