TRENDING

विद्युतको उच्च माग लक्ष्मी पूजाको दिन १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात

काठमाण्डौ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन हिजो देशभित्रको विद्युत् उच्च माग ९पिक डिमाण्ड० १४३८ मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन हिजो बेलुका ६ बजे पिक डिमाण्ड गएको वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको हो । गएको वर्ष कात्तिक ७ गते लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यसवर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी त्यसैअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गएको वर्ष लक्ष्मीपूजामा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गएको वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाण्डौ उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गएको वर्ष ३४२ मेगावाट थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन टोलीसहित स्युचाटारमा रहेको भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिनुभएको थियो।