TRENDING

बाग्मती प्रदेशमा ५६ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत पुग्दैन

मकवानपुर । बाग्मती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बाग्मतीमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।

बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेको छ । १४ दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्र्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताउनुभयो ।

तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुई पटकमात्र बाली लगाएको देखिन्छ । बाग्मती प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकामा छ लाख ६८ हजार एक सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार दुई सय ९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा बगैँचाको रूपमा आँप पाँच सय ३२ हेक्टरमा, केरा एक हजार एक सय २० हेक्टरमा, सुन्तला छ सय ८८ हेक्टरमा, कागती चार सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ ।