TRENDING

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

काठमाण्डौ । डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ ।

काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमणका बिरामी बढेपछि आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेको छ । विगत एक हप्तादेखि ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जनाएको छ ।