TRENDING

नेपालमा चामल निर्यातमा भारतले अझै दिएन अनुमति

नयाँदिल्ली । चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अन्य देशलाई निर्धारित परिमाणमा उपलब्ध गराउन थाले पनि नेपालको मागमा भने कुनै निर्णय गरेको छैन । भारतले विभिन्न देशलाई तोकिएको परिमाणमा निर्यातको अनुमति दिन थालेको हो ।

सिंगापुर, मरिसस र भुटानपछि यूएईलाई भारतले चामल निर्यात गर्ने भएको छ । तर, नेपालको हकमा भने अझैसम्म भारतले निर्यातको अनुमति दिएको छैन ।

वैश्विक बजारमा भारत चामलको ठूलो निर्यातक देश हो । विश्वमा हुने कुल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारतको रहँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले २० जुलाईबाट गैरबासमती चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भारतको उक्त निर्णयपछि विश्व बजारमा चामलको मूल्यवृद्धि भएको छ । विभिन्न देशले चामलको निर्यात खोल्न भारतलाई आग्रह गर्दै आएका छन् । नेपालले पनि एक लाख मेट्रिक टन चामलको माग गरेको महिना दिन बढी भइसकेको छ ।

भारतको विदेश व्यापार निर्देशनालयले पछिल्लो पटक यूएईलाई ७५ हजार मेट्रिक टन गैरबासमती चामल निर्यातको अनुमति दिएको हो । राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत उक्त परिणामको चामल यूएईलाई निर्यात गरिने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।