TRENDING

नेपालबाट भैंसीको मासु आयातका लागि चीनले प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेपालबाट भैंसीको मासु आयात गर्न चीन सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाललाई भैंसीको मासु निर्यात गर्न स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिने जनाएको हो ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा नेपालबाट भैंसीको मासु आयातको प्रक्रियालाई तीव्रता दिने उल्लेख छ । यसले नेपाल र चीनबीचको व्यापार घाटा घटाउन सघाउने पनि दुवै पक्षले जनाएका छन् ।

नेपालले चीनबाट धेरै वस्तु आयात गरे पनि यताबाट पठाइने वस्तु भने सीमित छ । प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपाली पक्षले चीनले केही वस्तुमा भन्सार छुट गरेकोमा चिनियाँ पक्षलाई धन्यवादसमेत दिएको थियो । गत आर्थिक वर्षमा नेपालले चीनबाट करिब २ खर्ब २२ अर्ब रुपैयाँबराबरको विभिन्न सामान आयात गरेको थियो भने चीनतर्फ करिब साढे २ अर्ब रुपैयाँबराबरको मात्र सामान निर्यात भएको छ ।

चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा समेत सहमति भएको छ । त्यस्तै याक, नाक र च्याङ्ग्राको नश्ल सुधारका लागि समेत दुई देशबीच सहकार्य हुने संयुक्त वक्तव्यमा उल्लेख छ ।