TRENDING

मोरक्कोमा गएको भूकम्पमा सबै नेपाली सुरक्षित

काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका सबै नेपाली सुरक्षित रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ ।

शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारजनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोरक्कोमा भूकम्पपछि खोजी तथा उद्धारकार्य जारी छ ।

“मोरक्कोमा रहेका ५० जनाजति नेपालीहरू दूतावासको सम्पर्कमा आएको छ । त्यहाँ रहेको नेपालीको संख्या लगभग यति नै हो,” मोरक्को समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमारले जानकारी दिए । सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए

भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको काशाब्लाङ्का आसपासका क्षेत्रमा नेपाली बसोबास नगर्ने उनले बताए । “अधिकांश नेपाली मोरक्कोको राजधानी रबातमा बसोबास गरेका छन् । राजधानी सहरमा भूकम्पले असर गरेको छैन,” राजदूत लम्सालले भने ।