TRENDING

रुसको मिसाइल आक्रमणमा १७ युक्रेनीको मृत्यु

किभ । रुसले बुधबार गरेको मिसाइल आक्रमणमा परी १७ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको कोस्त्यान्तिनिभ्का सहरमा मिसाइल आक्रमण भएको हो ।
व्यस्त बजारमा मिसाइल आक्रमण भएको थियो । मृत्यु हुने अधिकांश सर्वसाधारण भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् ।
‘यो आक्रमण अमानवीय हो । जसको मृत्यु भएको छ, उनीहरूको कुनै अपराध थिएन,’ उनले भने । मृत्यु हुनेमध्ये एक जना बालक रहेको र २८ जना घाइते भएको पनि युक्रेनले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार आक्रमणमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । उक्त सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ । रुसले भने आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।