TRENDING

क्यानडा जाने लोभमा डुब्यो ३४ लाख

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । ३४ लाख ठगिएपछि मात्रै उनीहरु आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार रुपैयाँ तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो ।

‘क्यानडा जानका लागि प्रोसेसका लागि आईएलटीएस सर्टिफिकेट र सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटकपटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगाएको भेटियो ।’

पीडितलाई त्यसरी लोभ्याएर पटकपटक गरी ३४ लाख ५७ हजार रुपैयाँ पठाउन लगाई ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो ।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका– ४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको पनि उनले बताए ।