TRENDING

तातोपानी नाका आजदेखि मानिसको आवतजावतका लागि खुल्ने

काठमाडौ । चीनसँगको उत्तरी सिमानाका तातोपानीमा आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले आजदेखि आवतजावत खुला गर्न लागेको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि तातोपानी नाका बन्द थियो । त्यसपछि सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो । तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन ।

गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले आजदेखि स्थानीयबासिन्दा पनि आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्थानीयबासिन्दा मात्रै यो नाका ओहोरदोहोर गर्न पाउँछन् । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले आवतजावतका लागि पास पाउने छन् ।

तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीमा रहेको अध्यागमन कार्यालयले पास वितरण गर्नेछ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले चीनतर्फ प्रवेश पाउने छन् । तर, चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन ।