TRENDING

बिजुलीको मूल्य प्रतियुनिट ६४ रुपियाँ देशभर प्रदर्शन

इस्लामाबाद । बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।

राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।

बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।

पाकिस्तान सरकारले देशको अर्थतन्त्र टाट पल्टनबाट जोगाउन अन्तरराष्ट्रिय मुद्राकोषबाट ३ अर्ब डलर ऋण लिएको छ। मुद्राकोषको शर्तअनुसार पाकिस्तान सरकारले विद्युतको दर ह्वात्तै बढाएको हो।

चर्को विरोधलाई ध्यानमा राखी कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले आकस्मिक बैठक बोलाएका थिए।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीले देशलाई हानि पुग्ने कुनै पनि कदम हतारमा नचल्ने बताएका छन् । उनले राष्ट्रिय कोषमा थप भार नपर्ने गरी यस्ता कदम चालेको स्पष्टीकरण दिएका छन्।

पाकिस्तानी अखबार डनका अनुसार पहिले बिजुलीको बिल २,००० देखि २,५०० रूपीसम्म हुने गरेकोमा अहिले बढेर १०,००० रूपी पुगेको छ।

अहिले कुल विद्युत् महसुलमा ४८ प्रतिशत कर लगाइएको छ। पूर्वप्रधानमन्त्री शहबाज शरीफले मुद्राकोषसँग लिएको ऋणको मार अहिले जनताले भोगिरहेका छन्।

तलबभन्दा बढी विद्युत् महसुल

बिजुलीको बिलले अहिले मासिक आम्दानीको २० देखि ५० प्रतिशतसम्म खर्च भइरहेको सामाजिक सञ्जालमा सर्वसाधारणले गुनासो गरेका छन्। कराचीका मानिसहरूले आफूहरूलाई पठाइएका बिलहरू उनीहरूको तलबभन्दा बढी भएको गुनासो गरेका छन्।