TRENDING

डेंगीको जोखिम कात्तिकसम्म रहने

काठमाडौँ । स्वास्थ्यविज्ञहरूले यस वर्ष डेंगीको जोखिम कात्तिक महिनासम्म रहने बताएका छन् । दुई महिनाअघिको संक्रमणको अवस्थाअनुसार हाल धेरै फैलावट नदेखिए पनि ‘खोज र नष्ट गर’ लगायत अभियानलाई निरन्तरता दिन उनीहरूको सुझाव छ ।

यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगीका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १०.९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६.४ प्रतिशत झापामा देखिएको छ ।

गत वर्ष अगस्टमा देशभरमा ३ हजार ७ सय ८ जनामा संक्रमण देखिएकोमा यस वर्षको अगस्ट २९ सम्म १२ हजार ७ सय ९६ मा संक्रमण देखिएको छ । गत वर्ष सबैभन्दा बढी सेप्टेम्बरमा २७ हजार ५ सय २९ संक्रमण देखिएर क्रमशः कम हुँदै डिसेम्बरमा ४ सय ८३ केसमा पुगेको थियो । २०२२ मा जम्मा ५४ हजार ७ सय ८४ मा संक्रमण देखिँदा ८८ जनाको ज्यान गएको थियो ।

‘विभिन्न तथ्यांक विश्लेषण गर्दा गत वर्ष जस्तै प्रवृत्ति यो वर्ष नदेखिने सम्भावना पनि छ । दुई महिनाअघिको केसको ट्र्र्न्डे हेर्दा खासै बढेको छैन,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालले भने । उनका अनुसार डेंगीको जोखिम कात्तिक अन्तिम सातासम्म कायमै रहने सम्भावना छ ।

गत वर्ष मुलुकभर कुल डेंगीको ५५ प्रतिशत काठमाडौं उपत्यका र २५.७७ प्रतिशत काठमाडौं जिल्लामा देखिएको थियो भने यस पटक यहाँ फाट्टफुट्ट संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा देशभर देखिएको कुल संक्रमणको ३.५५ प्रतिशत र काठमाडौंमा मात्रै २.०५ प्रतिशत देखिएको हो ।

यो वर्ष हालसम्म काठमाडौंमा ४ सय २५, ललितपुरमा १ सय ७४ र भक्तपुरमा १ सय ३४ मा संक्रमण देखिएको छ । डा.दाहालका अनुसार धरान, कोशी प्रदेशलगायत अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीको तथ्यांकसमेत काठमाडौं उपत्यकामा रेकर्ड गरिएको छ ।