TRENDING

बागमती प्रदेशको माटोमा अम्लीयपनको समस्या

काठमाडौ । बागमती प्रदेशमा खेती हुँदै आएको माटोमा अम्लीयपनको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा यस्तो पाएको कार्यालय प्रमुख डा। जनार्दन खड्काले जानकारी दिनुभयो ।

प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, बर्सातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।

प्रयोगशाला, घुम्ती शिविर र डिजिटल स्वाइल म्यापिङमार्फत छ हजार २९९ माटोको नमुना परीक्षण गर्दा झन्डै ७० प्रतिशत माटोमा अम्लीयपनाको समस्या पाइएको छ । गत आवमा प्रयोगशालाले एक हजार नमुना परीक्षण गर्ने लक्ष्य लिइएकामा एक हजार ३२२, घुम्ती शिविरमार्फत चार हजार ३५२ र डिजिटल स्वाइल म्यापिङबाट ६२५ माटोको नमुना परीक्षण भएको थियो । स्थानीय तहसँगको समन्वयमा प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा डिजिटल म्यापिङ गरिएको थियो । स्थापनाकालदेखि हालसम्ममा सबैभन्दा धेरै गत आवमा माटोको नमुना सङ्कलन र परीक्षण भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

अम्लीयपन घटाउन किसानलाई निःशुल्क चुन वितरण

माटोको परीक्षण गर्दा अम्लीयपन पाइएपछि प्रयोगशालाले किसानलाई चुन वितरण गरेको छ । माटोको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र चितवनको गरी पाँच पालिकालाई किसानलाई वितरण गर्ने गरी प्रतिपालिका २१ मेट्रिक टनका दरले निःशुल्क रूपमा १०५ मेट्रिक टन कृषि चुन वितरण उपलब्ध गराइएको हो । कृषि चुनमा नौ लाख ८१ हजार रुपियाँ खर्च भएको थियो ।

यस्तै गत आवमा जीवाणु मलको प्रयोग र भकारो सुधार कार्यक्रमबाट दुई जिल्लाका ५९ जना किसान लाभान्वित भएका छन् ।

काठमाडौँको दक्षिणकाली नगरपालिकामा भकारो सुधार कार्यक्रमबाट १४ र जीवाणु मलको प्रयोगबाट १२ जना किसान लाभान्वित भएको प्रयोगशालाकी माटोविज्ञ लक्ष्मी दाहालले बताउनुभयो ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भकारो सुधार कार्यक्रमबाट १७ र जीवाणु मलको प्रयोगबाट १६ जना किसान लाभान्वित भएको उहाँले बताउनुभयो । भकारो सुधार कार्यक्रममार्फत १० हजार र जीवाणु मलको प्रयोग कार्यक्रम अन्तर्गत प्रोत्साहनस्वरूप प्रतिकिसान पाँच हजार रुपियाँका दरले प्रदान गरिएको थियो ।

यसै गरी डिसेम्बर ५ मा विश्व माटो दिवसका अवसरमा ललितपुरको गोदावरी नगरपालिकाको वज्रवाराहीमा मोबाइल भ्यानमार्फत ३०३ वटा माटोको नमुना परीक्षण गरी १५।३ मेट्रिक टन कृषि चुन उपलब्ध गराइएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । उता गत आवमा प्रयोगशालाले माटो परीक्षणबाट चार लाख ३८ हजार ५२० राजस्व सङ्कलन गरेको छ ।