TRENDING

उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्यो

एजेन्सी । अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको होु उहाँले भन्नुभयो ।

घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका चर्तुवेदीले बताउनु भयो । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।