TRENDING

भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु

नेपालगन्ज । भारतमा सवारी दुर्घटनामा हुँदा बाँकेको नेपालगन्जस्थित त्रिभुवनचोकका दुई परिवारका ६ जनाको शनिबार मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी वैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो ।

यसैगरी त्रिभुवन चोककै निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि श्रावस्तीकै एकाउन्न भन्ने स्थानमा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनीहरु त्रिभुवन चोकका एस कुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोराछोरी हुन् । कारमा सन्तोषकुमार गुप्ताको पत्नी सीता पनि गएकी थिइन् । उनी बलरामपुरमा आफ्नो माइत बसेकी थिइन् ।

दुर्घटनामा मृत्यु हुने ६ जना नै नातेदार हुन् । दुई परिवारका ६ जनाको मृत्यु भएपछि नेपालगन्ज बजार शोकमा डुबेको छ ।

वैभव गुप्ता भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर रुखमा ठोकिएर दुर्घटना भएको आफन्तले बताएका छन् ।