TRENDING

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि।लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिनेछन् ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिनेछन् । जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिनेछ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।