TRENDING

फिलिपिन्समा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता

काठमाडौं । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो ।यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा ओहोर दोहोर गर्ने गरेको थियो ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् । दुर्घटनामा वेपत्ता छ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेका छन् ।

सात हजारभन्दा बढी टापुहरूको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूलाठूला दुर्घटना हुने गरेका छन् । त्यहाँ सामान्यतया माछा मार्न वा मानिसहरूलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुङुगा प्रयोग गरिने गरेको छ । प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनाहरूमा धेरै व्यक्तिको मृत्यु हुने गर्छ ।