TRENDING

भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने

एजेन्सी । भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताउनुभएको हो । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा दिन नियमहरू परिवर्तन गरिने बताउनुभएको छ । यो परिवर्तनले सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्ने उहाँको भनाइ छ ।

अहिले सिक्किममा सुत्केरीलाई तलबसहित छ महिनाको बिदा दिने कानुन रहेको छ । भारतका राज्यहरूमध्ये सिक्किममा सबैभन्दा कम छ लाख ७१ हजार जनसङ्ख्या रहेको छ । एजेन्सी