TRENDING

सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदो असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, आउँदो दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।

मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभयो ।

द्रुत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।