TRENDING

बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा गिरावट

मकवानपुर । बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा गिरावट आएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा अनुमान भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा राजस्व सङ्कलनमा अनुमानभन्दा ९ अर्ब रुपैयाँ कम उठेको हो । प्रदेश सरकारका विभिन्न निकायहरुले उक्त वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९\०८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ८८ करोड रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क छ ।